माघ २१, वालिङ
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवमा आईतबार अर्थात महोत्सवको चौँथो दिन हजारौँ दर्शकले अवलोकन गरेका छन् । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्वारा आयोजित आठौँ वालिङ महोत्सवमा दर्शकहरुको दैनिक भीड लाग्ने गरेको छ । आज मौसमी बदली भई चिसो बढ्नुकासाथै दिउसो पानीका बुँदहरुसमेत परेको थियो । तर प्रतिकूल मौसमका बाबजुद पनि दैनिक राष्ट्रिय कलाकारकोसाथमा बिभिन्न प्रतियोगितात्मक कार्यक्रमसहितको वालिङ महोत्सवले दर्शकहरुलाई तानेको छ ।
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । मेला महोत्सव नभएको धेरै भएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक रहेको आठौँ वालिङ महोत्सवका निर्देशक शोभाकान्त पौडेलले बताउनुभयो ।
वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहनुभएका पौडेलले भन्नुभयो—“वालिङ महोत्सव चौँथो दिनसम्म आईपुग्दा उत्साहजनक र सकारात्मक देखिएको छ । निकै लामो विवाद र छलफलका बाबजुद जनसागरका बीच महोत्सवको भव्य उद्घाटन सम्पन्न भयो, मौसमको च्यालेन्सलाई कुनै प्रवाह नगरी दर्शकहरुले धेरै माया र सहयोग गर्नुभएको छ ।”
चौँथो दिनसम्म आईपुग्दा आयोजक संस्थाले राखेको लक्ष्य सहजै पूरा हुने देखिएको पौडेलको भनाई छ । आयोजकले परिकल्पना गरेअनुसार जनसहभागिता देखिएको भन्दै महोत्सवमा कृषि तथा उद्यमशीलताका स्टलहरुमा मानिसहरुको चासो देखिएको महोत्सवका निर्देशक पौडेलले उल्लेख गर्नुभयो । यसअगाडि आयोजना गरिने महोत्सवमा भन्दा अहिलेको महोत्सवमा ठाउँ समेत फराकिलो भएको र जनसहभागितामा पनि थप उत्साह देखिएकाले महोत्सव सफलताको संकेत गरेको उहाँको भनाई छ ।
महोत्सवको चौँथो दिन आईतबार राष्ट्रिय कलाकारहरु प्रजापति पराजुली, श्याम राना, मन्जु विक, संगिता पौडेल, नेत्र खड्का, तारा पौडेल, टंक डुम्रे, घनश्याम रिजाल, राजेश भण्डारी, जगत गौडेलसहित स्थानीय कलाकारको प्रस्तुतिले दर्शहरुलाई मनोरञ्जित बनाएको थियो भने सुगम संगीतर्फ सन्दीप बस्यालको प्रस्तुति रहेको थियो भने त्यस्तै गरी शान्ति कार्की, पोख्रेली माग्ने धुर्मुसको हास्य प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।
दैनिक प्रतियोगितात्मक प्रस्तुतिमा स्याङ्जा डान्स आईडल सिजन ३ को अडिजन राउण्डबाट छनोट भएका दुई जनाले आफ्नो प्रस्तुति राखेका थिए भने विद्यालयस्तरीय नृत्यमा वालिङ बहुमुखी क्याम्पस र भुपू सैनिक आवासीय मावि वालिङको रहेको थियो । त्यस्तै लोक भजन प्रतियोगितामा १ एक समूह र रत्यौली गीत प्रतियोगितामा दुई समूहले आफ्नो प्रस्तुति राखेका थिए ।
यसैगरी भोलि सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नुहुनेछ । साथमा राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुति रहनेछ । त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुति रहनेछ ।