फागुन १७, वालिङ
पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा रामपुरमा निःशुल्क एकदिने स्वास्थ्य शिविर बुधबार सञ्चालन गरिएको हो । पूर्वप्रधानमन्त्री कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा शुसिल कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना, रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेशन नेपालको समन्वयमा शिविर भएको हो ।
रामपुर आयुर्वेद अस्पतालको भवनमा भएको एक दिने शिविरमा काठमाडौ मेडिकल कलेजका विषेशज्ञ डाक्टरहरुको उपस्थितिमा विभिन्न रोगको जाँच तथा उपचार गरिएको थियो । शिविरमा जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । बुधबार साँझ अबेरसम्म भएको शिविरमा ९ सय ५३ जनाले सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । शिविरमा सेवा लिएका मध्ये ३० जनालाई थप उपचारका लागि काठमाडौ रिफर गरिएको छ । मुटु , नशा , नाक , कान,घाँटी,स्त्री रोग, हाडजोर्नी सम्बन्धी समस्या भएका ३० जना विरामीलाई थप उपचारका लागि काठमाडौँ मेडिकल कलेज रिफर गरिएको हो । उनिहरुको निःशुल्क उपचार हुने छ ।
शिविरको शुभारम्भ गर्दै सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिं पुनले स्वर्गीय सुशील कोइरालाको स्मृतिमा प्रदेशका १२ वटै जिल्ला स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम भएको बताउनुभयो । यस अघि ३ जिल्लामा सम्पन्न भैसकेको र अहिले पहिलो चरणमा पाल्पा, गुल्मी, अर्घखाँची र रोल्पामा कार्यक्रम हुन गैरहेको जानकारी दिनुभयो । जनताको स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर प्रकृतिका रोगबाट दुरदराजका जनताको उपचार गर्नका लागि शिविर सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य डा. सुनिलकुमार शर्माले दुरदराजमा बस्नु भएका ठूला रोगबाट पिडित जनताको समस्या पहिचान गर्न र उपचार सेवाबाट बञ्चित भएकाहरुको लागि शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अप्रेशन गर्नुपर्ने जटिल प्रकारका विरामीहरुलाई काठमाडौ मेडिकल कलेजमा यहि फागुन २८ गते निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताउनुभयो । ७७ वटै जिल्लामा जाने अभियान अन्तर्गत रामपुरमा आईपुगेको उहाँले उल्लेख गर्नुभयो । ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले जनताको स्वास्थ्यका लागि नगरपालिका प्रतिवद्ध भएर लागेको बताउनुभयो । विशेषज्ञ डाक्टरहरुद्वारा जाँच तथा उपचारका सेवा प्रदान गर्नको लागि शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख थापाले शिविरबाट निःशुल्क उपचारका लागि काठमाडौं रिफर भएका विरामीलाई यातायात खर्चको व्यवस्था नगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनुभयो ।