फागुन २६, वालिङ
अबको तीन वर्षभित्र आम नागरिकले महसुस गर्ने गरी खेलकुदको क्षेत्रमा काम गर्ने वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभएको छ । सुविधायुक्त खेलमैदान नभैरहेको अवस्थामा पनि आफ्नै बलबुताले व्यक्तित्व विकाससँगै समग्र वालिङलाई चिनाउन खेलाडीहरुले योगदान पु¥याएको भन्दै नगर प्रमुख खाँणले अब केही समयभित्र खेलमैदानको लागि जग्गा व्यवस्थापनको काम गरिने बताउनु भएको हो ।
वालिङ भलिबल क्लवद्वारा आयोजित खुला भलिबल प्रतियोगिताको शुक्रबार वालिङ खेलमैदानमा उद्घाटन गर्दै नगर प्रमुख खाँणले वालिङ नगरपालिकालाई खेल तथा खेलाडी मैत्री बनाउनेगरी नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो—“अहिले रहेको खेल मैदान बिभिन्न संघ संस्था तथा व्यक्तिहरुको स्वामित्वमा रहेको जग्गा भएकाले बेला बेलामा विवाद आउने गरेको छ । यसका बावजुद पनि युवाहरुले खेलको माध्यमबाट योगदान दिइरहेका छन् । अब यस्तो समस्या नहुने गरी जग्गाको व्यवस्था गरिने छ । अब नगरपालिकाको स्वामित्वमा यो हाम्रो हो है भन्नेगरी केही समयभित्र जग्गा व्यवस्थापनको काम गरिने छ ।”
वालिङ नगरपालिकालाई खेलमैत्री बनाउनका लागि १४ वटै वडामा भलिबल खेलमैदान बनाईनेसमेत उहाँले उल्लेख गर्नुभयो ।
खेलकुदको सबैभन्दा सुन्दर पक्ष अनुशासन रहेको नगर प्रमुख खाँणले व्यक्त गर्नुभयो । खेलकुदमा अनुशासन हुन्छ, खेलकुदमा जस्तै राजनीतिमा पनि अनुशासन हुन आवस्यक रहेको उहाँले औंल्याउनुभयो । राजनीतिकर्मीहरुले खेलाडीबाट सिक्न सक्यौं भने देशमा संघीयता पनि बलियो हुने उहाँको भनाई छ ।
वालिङ भलिबल क्लवले आयोजना गरेको खुला भलिबल प्रतियोगिता २०८० मा आमन्त्रित ८ र भेट्रान्स ६ गरी १४ टीमको सहभागिता रहने क्लवका अध्यक्ष दिपेन्द्र खाँणले जानकारी गराउनुभयो । आमन्त्रित तर्फ प्रथम, द्वितीय, तृतीय र सान्वना हुनेले क्रमशः रु. १ लाख पचास हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी भेट्रान्सतर्फ रु.३० हजार र २० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगिता राष्ट्रिय खेलाडीहरुको सहभागितामा हुनेछ भने ३० गते सम्पन्न गरिने आयोजकले जनाएको छ । चौथो वार्षिकोत्सवका अवसरमा क्लवले खुला भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।