Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

यस वर्षको मनसुन अवधिमा १८ लाख व्यक्ति प्रभावित हुने आकलन

यस वर्षको मनसुन अवधिमा १८ लाख व्यक्ति प्रभावित हुने आकलन

  • PNN Times
  • बिहिवार, जेठ १० २०८१


  • १० जेठ, काठमाडौं । गृह मन्त्रालयले यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आकलन गरेको छ ।

    गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनामा यस वर्षको मनसुन अवधिमा ४ लाख ४ हजार घरधुरीका १८ लाख एक हजार व्यक्ति प्रभावित हुने आँकलन गरिएको हो । यो गत वर्षको तुलनामा ६ लाखले बढी हो । २०८० सालको मनसुन अवधिमा प्राधिकरणले मनसुनजन्य विपद्‌बाट १२ लाख ५४ हजार व्यक्ति र २ लाख ८६ हजार घरधुरी प्रभावित हुने अनुमान सार्वजनिक गरेको थियो । प्राधिकरणको कार्यकारी समितिको बैठक बसेर २०८१ सालको कार्ययोजनालाई अन्तिम रुप दिन भने बाँकी छ । प्राधिकरणको कार्यकारी समितिको बैठक गृहमन्त्रीको अध्यक्षतामा बस्छ ।

    images

    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले भने, ‘यस वर्षको मनसुन अवधिमा ४ लाख बढी घरधुरीका १८ लाख बढी व्यक्ति प्रभावित हुने आँकलनसहित विपद् प्रतिकार्यको खाका तयार पारेका छौं, गृहमन्त्रीज्युको समय मिल्यो भने कार्यकारी समितिको बैठक बसेर त्यसलाई अन्तिम रुप दिनेछौं ।’

    जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी गर्मी र सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणको आधारमा विपद् प्राधिकरणले प्रभावित हुनसक्ने जनसंख्या अनुमान गर्दै प्रतिकार्य योजना बनाएको हो ।

    सामान्यतया नेपालमा १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । जेठदेखि असोजसम्मको चार महिनाको मनसुन अवधिमा नेपालमा औसतमा १ हजार ४३० देखि १ हजार ५३० मिलिमिटरसम्म वर्षा हुने गर्छ । यो कूल वार्षिक वर्षाको ८० प्रतिशत हो । धेरै पानी पर्ने हुँदा यसले विपद्‌को रुप पनि लिने गर्दछ ।

    प्राकृतिक रूपमा कमजोर भू–बनोट, भिरालोपना, नदी तथा खोलानालाको सञ्जालका कारण नेपाल मनसुनजन्य प्रकोपबाट जोखिमयुक्त मानिन्छ । नेपालमा मनसुनजन्य प्रकोप भनेर भारी वर्षा, बाढी, पहिरो, डुबान र कटानलाई प्रमुख मानिन्छ । यद्यपि मनसुन अवधिमा सर्पदंश, झाडापखालाजन्य प्रकोप पनि हुने गर्दछ । नेपालमा बढी जनधनको क्षति भने बाढी–पहिरो र चट्याङबाट हुने गरेको छ ।

    २०७० वैशाखदेखि २०७९ को चैतसम्मको अवधिमा बाढी, पहिरो र भारी वर्षाका ५ हजार ६१४ वटा घटना अभिलेखित छ । यसबाट २ हजार १४६ जनाको मृत्यु भएको छ भने ७७९ जना बेपत्ता भएका छन् । ६१ हजार ४५५ घर र १८ अर्बभन्दा बढी आर्थिक क्षति पुगेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रेकर्ड छ ।

    प्राधिकरणका अनुसार गत वर्षको मनसुन अवधि (२०८० साल जेठ ३१ गतेदेखि २०८० साल असोज २८ गतेसम्म) मा पहिरोका ४५९, भारी वर्षाका १६८, बाढीका १४२ र चट्याङका १२३ गरी जम्मा ८९२ घटना अभिलेख भएका थिए । यी घटनाबाट ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए ।

    बिहिवार, जेठ १० २०८११०:१०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend