Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामपुरमा एचपिभी खोप सम्बन्धी अभिमुखिकरण 

रामपुरमा एचपिभी खोप सम्बन्धी अभिमुखिकरण 

  • PNN Times
  • सोमवार, माघ १४ २०८१


  • रामपुरमा एचपिभी खोप सम्बन्धी अभिमुखिकरण 

    माघ १४, पाल्पा ।
    पाल्पाको रामपुर नगरपालिका स्वास्थ्य शाखाले ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण प्रदान गरेको छ । 
    यही माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियान अन्तर्गत शाखाले नगरपालिका स्तरीय खोप समन्वय समितिलाई आइतबार  अभिमुखिकरण प्रदान गरेको हो । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि खोप अभियान सञ्चालन गरिने भएको हो । 
    पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने एचपिभी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई लगाईदैछ । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले यही माघ २२ देखि २८ गतेसम्म नगर भित्रका ६० मध्ये २९ विद्यालयका १ हजार ९ सय ४४ किशोरीलाई खोप दिइने जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत छात्राहरुलाई माघ २२ देखि २८ सम्म विद्यालय मै पुगेर खोप लगाईने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समूह भित्रका किशोरीहरुलाई स्वास्थ्य संस्था मार्फत खोप प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार खोपको लागि पूर्व तयारी अन्तर्गत नगर स्तरीय खोप समितिलाई अभिमुखिकरण प्रदान गरिसकेको र अब वडा स्तरीय खोप समिति, स्वास्थ्य स्वंयम्सेविका, शिक्षिकाहरुलाई अभिमुखिकरण प्रदान  गर्ने तयारी भैरहेको छ ।
    नगरपालिकाका नर्सिङ अधिकृत पुनम धितालले एचपिभी खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताउनुभयो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक चार जना महिलाको ज्यान गएको तथ्याङ्क रहेकाले खोप अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो । एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको उहाँले बताउनुभयो । साथै खोपले कुनै असर नगर्नेसमेत जानकारी दिनुभयो ।
    स्वास्थ्य शाखाका अनुसार रामपुर नगरपालिका वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १ सय ५३ जना, ४ मा १ सय ११ जना, ५ मा ७ सय २६ जना, ६ मा २ सय १८ जना, ७ मा १ सय ४३ जना, ८ मा १ सय ४५ जना, ९ मा १सय ९ जना र १० नम्बर वडामा २ सय १३ जना छात्रालाई खोप दिइनेछ । आगामी आर्थिक बर्षदेखि नेपाल सरकारले यो खोपलाई अन्य खोप जस्तै नियमित खोपमा लैजाने निर्णय गरिसकेको छ । 
    कार्यक्रममा नगर कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    सोमवार, माघ १४ २०८१०७:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend