फागुन १, वालिङ
स्याङ्जाको बिरुवा गाउँपालिकामा आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता—२०८१ सुरु भएको छ ।
गाउँपालिकाको ८ नम्वर वडाको मेथाभुरुङस्थित पुष्पमदन खेलकुद मैदानमा ४ गते आइतबारसम्म सञ्चालन हुने आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता—२०८१ आजदेखि सुरु गरिएको हो ।
प्रतियोगिताको समुद्घाटन गर्दै नेपाल सरकारका पूर्व गृहमन्त्री माननीय खगराज अधिकारीले खेलमैदानको सम्पूर्ण मापदण्ड पूरा भएकाले रङ्गशाला निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहाँले पुष्पमदन खेलमैदानलाई रङ्गशालाकारुपमा विकास गर्नका लागि गाउँपालिकाको प्रस्तावलाई पारित गर्नेगरी लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । सैयौं हजारौं अस्पताल भन्दा एउटा सुविधा सम्पन्न रङ्गशाला अहिलेको आवश्यकता हो । उहाँले भन्नुभयो, “खेलकुदको माध्यमबाट स्वस्थ रहन सक्छौं, तन्दुरुस्ती कायम राख्न सक्छौं । त्यसैले सुविधा सम्पन्न रङ्गशाला आजको आवश्यकता हो ।”
खेल महत्वपूर्ण क्षेत्र हो खेलको विकासमा हामी सबै लाग्नुपर्छ किनकि खेलको माध्यमबाट राष्ट्रलाई विश्वसामु चिनाउने काम गर्दछ । त्यसैले खेलाडी राष्ट्रका गहनामात्र होइनन् राष्ट्रका गौरव हुन्, पूर्व गृहमन्त्री माननीय अधिकारीले भन्नुभयो ।
राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल रहेको बिरुवा गाउँपालिकाले आफ्नो साख कायम गर्दै नयाँ खेलाडी उत्पादनमा लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
बिरुवा गाउँपालिकाद्वारा आयोजित प्रतियोगितामा पुरुष तथा महिला भलिबल, व्याडमिन्टन र पुरुष तर्फको सर्टपुटलगायतका खेल हुनेछन । प्रतियोगितामा भलिबल पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः रु ८० हजार, ५५ हजार, ३० हजार र १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्फ ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तैगरी व्याडमिण्टनमा पुरुषतर्फ १० हजार, ७ हजार, ४ हजार र ४ हजार र महिला तर्फ ७ हजार, ५ हजार, ३ हजार र ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्टपुटतर्फ ५ हजार, ३ हजार र २ हजार नगदकोसाथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेल अवधिभर सहभागी खेलाडीहरुका लागि १ लाख बराबरको दुर्घटना बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा २ नम्वर वडाबाहेक ७ वटा वडाको सहभागिता रहेको छ ।