फागुन १०, पर्वत, पर्वतको पैयूँमा मकै बीउ उत्पादन तथा मकै बाली प्रवर्द्धन योजना अन्तर्गत क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र कुश्मा पर्वतको आयोजनामा भएको तालिममा पैयूँ गाउँपालिकाका सात वटै वडाका अगुवा कृषकहरूको उपस्थिति रहेको थियो।
तालिममा कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले मकैको बीउ उत्पादन तथा बाली प्रवर्द्धनका आधुनिक प्रविधिहरू बारेमा प्रशिक्षण दिनुभयो। त्यस्तै कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले मकै बालीमा लाग्न सक्ने रोग तथा कीट व्यवस्थापनका उपायहरू, उत्पादन प्रविधि, मकै बालीको प्रवर्द्धनका लागि आवश्यक विधि, तथा आधुनिक कृषि अभ्यासहरूबारे विस्तृत रुपमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा, पैयूँ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि निर्भीक नारायण भुर्तेलले कृषि विकासमा स्थानीय सरकारको भूमिकाबारे जानकारी गराउनु भयो । अध्यक्ष भुर्तेलले कृषकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताउनु भयो ।
तालिममा पैयूँ गाउँपालिकाका सात वटै वडाका अगुवा कृषकहरूले मकैको बीउ उत्पादन प्रविधि, मकै बालीको प्रवर्द्धनका लागि आवश्यक विधि, तथा आधुनिक कृषि अभ्यासहरूबारे जानकारी पाएका छन।
कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्दै स्थानीय स्तरमा मकैको बीउको गुणस्तर सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। यसले पैयूँ गाउँपालिकामा मकैको उत्पादन तथा गुणस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ।
सहभागी कृषकहरूले नयाँ प्रविधि र ज्ञान सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन। यस्ता तालिमले कृषकहरूलाई आत्मनिर्भर बनाउन तथा पैयूँ क्षेत्रमा मकैको उत्पादनमा वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।