पर्वत - पैयूँ गाउँपालिकाले १५१ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खुल्ला लोक गीत तथा समूह नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिताको मिति, समय, स्थान र नियमावली सार्वजनिक गरेको छ।
प्रतियोगिता फागुन २४ गते बिहान ९:०० बजे पैयूँ गाउँपालिकाको प्राङ्गणमा हुनेछ।
‘नारी अधिकार सम्बन्धि’ विषयमा आधारित लोक गीतमा विभिन्न समूहले प्रतिस्पर्धा गर्नेछन्। सहभागी समूहले गीतसँगै समूह नृत्यसमेत प्रस्तुत गर्नुपर्नेछ। प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।
प्रथम स्थान हासिल गर्ने समूहले रु. २०,०००, दोस्रोले रु. १५,०००, तेस्रोले रु. १०,०००, र सान्त्वना पुरस्कारस्वरूप रु. ५,००० प्राप्त गर्नेछन्।
गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक याम कुमारी रानाले नारी दिवसको अवसरमा आयोजित यस कार्यक्रम महिला सशक्तीकरण र लोक संस्कृतिको जगेर्नाका लागि महत्वपूर्ण हुने बताउनु भयो।
उहाँले भन्नुभयो, “नारी अधिकारलाई सबल बनाउँदै हाम्रो मौलिक लोक संस्कृतिलाई प्रवर्द्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण हुनेछ। महिलाहरूको सशक्तीकरणका लागि यस्ता कार्यक्रम आवश्यक छन्, त्यसैले सबैलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गर्दछु।”
गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाउने समूहहरूले तोकिएको नियम पालना गर्नुपर्ने जनाएको छ। एक समूहमा १० जना सदस्य रहने, गीतको अधिकतम समय १० मिनेट तोकिएको र प्रस्तुति मौलिक तथा मर्यादित हुनुपर्ने नियम रहेका छन्।
गाउँपालिकाले नारी सशक्तीकरण र स्थानीय संस्कृतिको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको उल्लेख गरेको छ। इच्छुक समूहहरूलाई मिति फागुन २३ गते भित्र दर्ता गराउन आग्रह गरिएको छ।
