पर्वत - पर्वत जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित पैयूँ गाउँपालिका–४ मा निर्माणाधीन १० शैयाको पैयूँ आधारभूत अस्पताल आगामी कार्तिक महिनासम्म सम्पन्न हुने भएको छ। गाउँपालिकाले निर्माण कार्य तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ।
हालै सञ्चालनमा आएको अस्थायी संरचनाबाट नै अस्पतालले दुईजना डाक्टरसहित २४ सै घण्टा सेवा प्रदान गरिरहेको छ। अस्पतालमा डिजिटल एक्सरे, प्रयोगशाला परीक्षण (ल्याब सेवा), सामान्य प्लास्टर लगायतका सुविधा उपलब्ध छन्। नियमित रूपमा आकस्मिक तथा सामान्य उपचार सेवा दिइँदै आएको छ ।

पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले भन्नुभयो, “हामीले पैयूँका नागरिकलाई नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सपना देखेका थियौं। आज त्यो सपना साकार हुँदैछ। अस्पताल निर्माणले दक्षिण पर्वतकै स्वास्थ्य सेवामा नयाँ युगको थालनी गर्नेछ।”
उपाध्यक्ष याम कुमारी रानाले भन्नुभयो, “स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचका लागि गाउँपालिकाले विशेष प्राथमिकता दिएको छ। आगामी दिनमा थप सेवा विस्तार गर्दै अस्पताललाई अझ आधुनिक र सर्वसुलभ बनाउने हाम्रो लक्ष्य छ।”
निर्माण सम्पन्न भएपछि यो अस्पताल दक्षिण पर्वतकै सबैभन्दा सुविधा सम्पन्न र ठूलो स्वास्थ्य संस्था बन्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने आशा व्यक्त गरेका छन्।