असार १०, वालिङ ।
स्याङ्जाको बिरुवा गाउँपालिकाले १७ औं गाउँसभा एवम् बजेट अधिवेशन सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाले १७ औं गाउँसभा एवम् आर्थिक वर्ष २०८२÷०८३ को बजेट अधिवेशन सम्पन्न गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८२÷०८३ को लागि ४८ करोड ६० लाख ५८ हजार ५ सय ६१ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । 
जस अन्तर्गत नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ४६ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २२ करोड ७३ लाख ९७ हजार, सङ्घीय राजश्व बाँडफाँट तर्फ ७ करोड २० लाख अनुमान गरिएको छ । यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान तर्फ १ करोड ६ लाख ७० हजार, प्रदेश राजश्व बाँडफाँटतर्फ ७२ लाख २ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु. ६० लाख, प्रदेश विशेष अनुदान रु. ४० लाख रहेको छ ।
सङ्घीय विशेष अनुदानतर्फ रु. १ करोड २९ लाख र सङ्घीय समपूरकतर्फ १ करोड २२ लाख अनुमान गरिएको छ । बचत रु.३ करोड १५ लाख र आन्तरिक आयश्रोत तर्फ १ करोड १० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु. ३५ करोड ३२ लाख ६ हजार ५ सय ६१ प्रस्ताव गरिएको छ । यो कूल बजेटको ७२.६६ प्रतिशत हुनु आउँछ । यसमध्ये बाट गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरुको तलव भत्ता तथा कार्यालय सञ्चालन खर्चसमेत प्रस्ताव गरिएको छ । यसैगरी चालु खर्च तर्फ नै जनप्रतिनिधिहरुको सेवा सुविधासमेत प्रस्ताव गरिएको छ ।
यस्तैगरी पूजीगत खर्च तर्फ आर्थिक विकास क्षेत्रमा १३.१४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा २२.२८ प्रतिशत, भौतिक पूर्वाधारमा ५१.४७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ७.६५ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ५.४६ प्रतिशत गरी कूल १३ करोड २८ लाख ५२ हजार विनियोजन गरिएको छ ।
बजेटमा सडक पूर्वाधार तर्फ गाउँपालिकाको केन्द्रबाट वडा कार्यालय जोड्ने रणनीतिक सडकहरु बाह्रै महिना यातायात सञ्चालन गर्न ललाङ्—तर्ले—कुसुम भञ्ज्याङ् सडकका लागि रु १ करोड ७५ लाख विनियोजन गरिएको छ । यसैगरी भुवान—चिन्नेवास—राम्कीथुम्की सडक स्तरोउन्नती रु ८६ लाख, भन्ज्याङ बाहु— बिरुवा सडक स्तरोउन्नती रु ४० लाख, बेलघारी मेथाभुरुङ सपौंदे सडक स्तरोन्नती रु. ४० लाख, खाली—बिरुवा सडकका लागि रु ३० लाख, बिरुवा—शिखरशिहं दह सडक स्तरोन्नतीका लागि रु २५ लाख, विनियोजन गरेको छ । पालिकास्तरीय अस्पताल सञ्चालनको लागि रु. ७० लाख रुपैया विनियोजन गरेको छ । योसँगै बजारोन्मुख बस्तीहरुको भित्रि बाटो निर्माण र सामुदायिक भवन निर्माणमा उपभोक्तासँग साझेदारी गर्नसमेत आवश्यक बजेट विनियोजन गरेको छ ।
बजेटमा भवन तथा सडक पूर्वाधारकासाथै कृषि, शिक्षा र रोजगारको क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । जसमा वास्तविक कृषकको पहिचान गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन कृषक अनुदानमा रु.२० लाख, ५० प्रतिशत अनुदानमा कृषि बीउविजन वितरण, अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार, पशु औषधी तथा कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको छ ।
यसैगरी शिक्षा तर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पोषणयुक्त खाजा व्यवस्था गर्न सङ्घीय सरकारले तोकेको दरमा वृद्धि गर्न रु. १० लाख बजेट विनियोजन गरिएको छ । पालिका भित्रका अभिभावक विहिन बालबालिकाहरुको अभिभावकत्व गाउँपालिकाले ग्रहण गरी कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलान आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कार्यक्रम मार्फत बेरोजगार सूचीमा सूचिकृत १ सय दिन बराबरको रोजगारी प्रदान गरिएकोमा साझेदारीको लागि रु. १३ लाख ७५ हजार बजेट व्यवस्था गरिएको छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा कामदारहरुलाई र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्नका लागि रु.२५ लाख बजेटको व्यवस्था गरिएको छ ।
यही असार ६ गते गाउँपालिकाको १७ औं अधिवेशनको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्पन्न गरेको बिरुवा गाउँपालिकाले आज मङ्गलबार आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित बजेट प्रस्तुतसँगै सर्वसम्मतले पारित भएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर र प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्यले सभासदहरुबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
