साउन १, वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
नगरपालिकाले आफ्नो नियमित कार्यक्रम अन्तर्गत हिजो बुधबार ७ नम्वर वडाको केवरे भञ्ज्याङस्थित बालसिद्ध माविमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले कार्यक्रमको उद्देश्य र नगरपालिकाको कार्यप्रगतिबारे विस्तृत जानकारी दिनुभएको थियो ।
उपप्रमुख कविता तिवारी गैह्रेले कार्यक्रममा स्वागत मन्तव्य दिँदै नगरपालिकाले समावेशिता, पारदर्शिता र जवाफदेहिताका आधारमा स्थानीय तहमा सेवा प्रवाह गर्न कटिबद्ध रहेको बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले चालू आर्थिक वर्षमा गरेका प्रमुख काम, बजेटको खर्च अवस्था, विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा सामाजिक क्षेत्रका उपलब्धी र चुनौतीहरू प्रस्तुत गरिएको थियो ।
नगरपालिकाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरु, वडा सचिवहरू, विभिन्न टोल विकास संस्था, स्थानीय संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्था प्रमुख, महिला, युवा, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सक्रीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नगरपालिकाले गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा झनै प्रभावकारी ढंगमा सेवा प्रवाह गर्न सुझाव र सल्लाह प्रदान गरेका थिए ।
कार्यक्रममा उठेका सुझावहरूलाई सम्बोधन गर्दै नगर प्रमुख खाँणले जनताबाट आएका गुनासा र रायहरूलाई समेटेर आवश्यक समायोजन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सहभागीहरुबाट आएका सुझाव एवम् गुनासा र प्रश्न आफूहरुका लागि सारथी बन्ने उल्लेख गर्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रमले वालिङ नगरपालिकालाई उत्तरदायित्वमूलक, सहभागी र पारदर्शी स्थानीय सरकारको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
नगरपालिकाले जनताको सूचनामा पहुँच, स्थानीय विकासमा नागरिक सहभागिता र गुनासो समाधान प्रणालीलाई सुदृढ गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
गह्रौं कालिका मिडिया हाउस, वालिङले कार्यक्रमको समन्वय, सञ्चालन र दस्तावेजीकरणको जिम्मेवारी निर्वाह गरेको थियो ।