Logo

शनिवार, कार्तिक १ गते २०८३

images

गल्याङमा बसपार्क बन्ने विषय भाषण र आश्वासनमा सीमित

गल्याङमा बसपार्क बन्ने विषय भाषण र आश्वासनमा सीमित

  • गोपाल जिटी
  • मंगलवार, श्रावण ७ २०८२


  • गल्याङमा बसपार्क बन्ने विषय भाषण र आश्वासनमा सीमित

    साउन ६, वालिङ ।
    देशमा संघीय, प्रदेश र स्थानीय गरी तीनतहको राज्य प्रणाली छ । जनतासँग प्रत्यक्ष साक्षात्कार हुने स्थानीयतह हो । त्यसैले जनताका आधारभूत आवश्यकताका विषय सम्वोधन गर्न स्थानीयतहको भूमिका महत्वपूर्ण रहन्छ । 
    पालिकाका बजार क्षेत्रको आधारभूत आवश्यकतामध्ये सवारी साधनका लागि बसपार्क पनि एक हो । नगरपालिका बन्नका लागि राज्यले तय गरेका विभिन्न मापदण्डहरुमध्ये बसपार्क पनि एक हो । यसका लागि यात्रु विश्राम स्थल तथा सुविधाजनक शौचालयसहितको बसपार्क भएको हुनुपर्ने भनिएको छ ।
    नीति बनेसँगै अधिकांश नगरपालिकाहरुले बसपार्क बनाएर यातायातका साधन पार्किङ व्यवस्थापन गरिसकेका छन् भने कतिपय पालिकाहरु निर्माणको चरणमा छन् । यसैबीच स्याङ्जाको गल्याङ नगरपालिकामा अझैसम्म पनि बसपार्क बन्न सकेको छैन । 
    सिद्धार्थ राजमार्गसँग जोडिगएको गल्याङको बजार क्षेत्र बाक्लो बस्ती र साँघुरो सडक गल्लीमा भीडभाडसहित अस्तव्यस्त हुने गर्दछ । यहाँको बजार नगरपालिकाको उत्तरी क्षेत्रको ४ नम्वर वडाहुँदै पर्वत, पूर्वमा चापाकोट नगरपालिका, पश्चिममा कालीगण्डकी गाउँपालिका र दक्षिणमा पूर्वी पाल्पाको हुँगी हेक्लाङ, बगनासकाली गाउँपालिका क्षेत्रको पाएक पर्ने ठाउँ हो । अहिलेसम्म पनि बसपार्क बन्न नसक्दा नागरिकहरुले सास्ती भोग्नुपरेको छ । व्यवस्थित बसपार्क बनाउने विषय भाषण र आश्वासनमै सीमित रहेको छ ।
    २०७४ को स्थानीयतह निर्वाचनपछि नीतिगतरुपमा जग्गाको व्यवस्थापनको काम सुरु भएको गल्याङमा अझैसम्म पनि बसपार्क बन्न नसक्दा सवारी साधनहरु राजमार्ग तथा घर पसल अगाडि राख्नुपर्ने अवस्था छ । साँघुरो बजारमा ग्रामिण क्षेत्रमा चल्ने जीप तथा बस एवम् मालबाहक गाडी पार्किङले अस्तव्यस्त हुन्छ । स्थानीय सरकार प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रमुखले वर्षैपिच्छे अब बसपार्क बन्छ भनेर भाषण दिने गर्नुहुन्छ तर काम भने शुन्य छ । वडा नम्वर ३ र ११ मा पर्ने मुडकिल्लामा बसपार्क बनाउने भनिएको ठाउँ झाडी बनेको छ । यहाँ सिद्धार्थ राजमार्गमा जोडिएको खोल्साको वारिपारी गरी ६ रोपनी जग्गा बसपार्क बनाउनका लागि खरिद गरिएको हो ।Gu.jpg
    गतवर्ष साउनको सुरुमा कुनै एक कार्यक्रममा सम्वोधन गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले बजेटको व्यवस्थापन गरेर अबको १५ दिनसम्ममा बसपार्क निर्माण थालनी गरिने बचन दिनुभएको थियो । 
    यसका लागि नगरबाट होस या प्रदेश तहबाट जहाँबाट भए पनि बजेट व्यवस्थापनको प्रकृयामा जाने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो । तर बसपार्क बनाउने भनिएको जग्गा झाडी बनेको छ भने नगरप्रमुखको भनाई भनाईमै सीमित रहेको छ ।
    यस्ता प्रतिवद्धतासहितका भाषण नगरबासीले धेरै पटक सुनेका छन् तर काम हुने सुरसार देखिदैन । 
    स्थानीय निर्वाचन २०७९ अगाडि नै नगरपालिकाले जग्गा खरिद गरेर बसपार्क बनाउने नीति बनाएको थियो । अहिलेको कार्यकाल पनि तेस्रो वर्षमा प्रवेश गरिसकेको छ । गण्डकी प्रदेश सभा सदस्य माननीय महेश भट्टराई पनि गल्याङ बजारकै हुनुहुन्छ र नगरप्रमुख पनि यही ठाउँको हुनुहुन्छ । विकासप्रेमी युवा नेताको घरदैलामा हुनुपर्ने कामले गति लिन नसक्दा वा बसपार्क बनाउन भनिएको जग्गाको झाडीले गिज्याइरहेको भान हुन्छ ।IMG_3629.JPG

    मंगलवार, श्रावण ७ २०८२०८:५२:३५

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend