पर्वत, पैयूँ - अखिल नेपाल महिला संघ, पैयूँ गाउँपालिका कमिटी, पर्वतको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले माया देवी वि.कलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।त्यसैगरी, रिम कला काफ्ले उपाध्यक्ष, गिता दमै सचिव, सिता चापागाई उपसचिवमा चयन हुनुभएको छ। साथै अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्।कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य यामकुमारी राना, महेन्द्र कुमार श्रेष्ठ र अखिल नेपाल महिला संघ गण्डकी प्रदेश सदस्य झबकला काफ्लेले शुभकामना मन्तव्य दिनुभएको थियो। उहाँहरूले अधिवेशन सफलताका साथ सम्पन्न भएकोमा प्रसन्नता व्यक्त गर्दै नव-निर्वाचित नेतृत्वलाई बधाई तथा आगामी कार्यकालको लागि सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।शुभकामना मन्तव्यहरूमा महिला सशक्तिकरण, सामाजिक रूपान्तरण र संगठनात्मक मजबूतीका विषयमा जोड दिइएको थियो। वक्ताहरूले संगठनले स्थानीय स्तरमा महिलाका अधिकार र हितका लागि खेल्ने भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।नव-निर्वाचित अध्यक्ष माया देवी वि.कले धन्यवाद मन्तव्य दिँदै संगठनलाई थप सुदृढ, सक्रिय र परिणाममुखी बनाउने अठोट व्यक्त गर्नुभयो। उहाँले पैयूँ गाउँपालिका भित्रका महिलाहरूको हक, हित र सशक्तिकरणका लागि योजनाबद्ध ढंगले कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो।अधिवेशनले महिला अधिकार, समानता, र सामाजिक न्यायका पक्षमा एकताबद्ध रूपमा अघि बढ्ने दृढता व्यक्त गर्दै सफल समापन भएको हो।