Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा उत्पादनमुखी र जनमुखी बजेट बनाउन जोड

पैयूँमा उत्पादनमुखी र जनमुखी बजेट बनाउन जोड

  • PNN Times
  • मंगलवार, आषाढ २ २०८३


  • पैयूँमा उत्पादनमुखी र जनमुखी बजेट बनाउन जोड

    पैयूँ, पर्वत । २ असार, २०८३ । पर्वतको पैयूँ गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटलाई उत्पादनमुखी एवं जनमुखी बनाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। गाउँपालिकाको सभाहलमा मंगलबार आयोजित आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा तथा सुझाव संकलन कार्यक्रमका सहभागीहरूले यस्तो जोड दिएका हुन्।

    गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष श्री यामकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत श्री जीवन गैरे, ७ वटै वडाका वडा अध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरू, सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा एवं सामाजिक तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो।

    images

    बजेटलाई कसरी उत्पादनमुखी र नागरिक केन्द्रित बनाउने भन्ने छलफलका क्रममा सहभागीहरूले रोजगारी सिर्जना, व्यावहारिक शिक्षा, गुणस्तरीय स्वास्थ्य, कृषिको आधुनिकीकरण र दिगो पूर्वाधार निर्माण लगायतका विविध क्षेत्रहरूमा केन्द्रित रही आफ्ना विश्लेषणात्मक सुझाव, सल्लाह र धारणाहरू प्रस्तुत गरेका थिए।

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्री तोरण मल्ल ठकुरीले सरोकारवालाहरूको माग र आवश्यकता अनुसार नै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्राप्त महत्वपूर्ण सुझावहरूलाई मुख्य आधार बनाएर नै गाउँपालिकाले आफ्ना आगामी योजनाहरू निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो।

    यसैबीच, अध्यक्ष ठकुरीले बजेट निर्माणमा प्रविधि र आम नागरिकको सहभागिता अझ बढाउनका लागि हालै अनलाइन माध्यमबाट गुगल फारमको सहायतामा समेत सुझाव संकलन कार्य आरम्भ गरिसकिएको जानकारी दिनुभयो। आगामी दिनमा पनि विविध क्षेत्रगत छलफलहरू सञ्चालन गरी व्यापक रूपमा सुझाव संकलन गरिने उहाँको भनाइ थियो।

    यस कार्यक्रममा प्रस्तुत गरिएका सुझावहरूलाई समेटी बजेट तथा वार्षिक योजना तर्जुमा प्रक्रियालाई थप समावेशी र जनउत्तरदायी बनाउने दिशामा गाउँपालिकाले प्रभावकारी पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

    मंगलवार, आषाढ २ २०८३०९:४३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend