पोखरा, २२ साउन । सातौँ कञ्चन पत्रकारिता पुरस्कार–२०८३ बाट स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा जिटीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले पत्रकार जिटीलाई सम्मान गरेका हुन्। स्वर्गीय वेदमान गुभाजू तथा आमा स्वर्गीय नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी एवं व्यवसायी बिमलमान गुभाजूद्वारा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका पत्रकारलाई प्रदान गरिँदै आएको छ।
सम्मान ग्रहणपछि पत्रकार गोपाल बहादुर जिटीले पत्रिका वितरकका रूपमा आफ्नो यात्रा सुरु गर्दै पत्रकारितामा प्रवेश गरेको स्मरण गर्दै यो सम्मानले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर काम गर्ने प्रेरणा मिलेको बताए। उनले पुरस्कारलाई आफ्नो व्यक्तिगत उपलब्धिमात्र नभई पत्रकारिता पेशाप्रतिको सम्मानका रूपमा लिएको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पत्रकारिता र जिल्ला प्रशासनबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। संवेदनशील विषयमा जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याउँदै उनले आगामी दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्न प्रशासन प्रतिबद्ध रहेको बताए।
फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन महासचिव सुरज थापामगरले गरेका थिए।
यसै पुरस्कारबाट कास्कीका पत्रकार खेम सारु मगर पनि सम्मानित भएका छन्।