मंसिर २९, स्याङ्जा । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरका १४ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरबासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँ गाउँमा नै पु¥याउने उद्देश्यले केन्द्रीय सरकार र नगरपालिकाको साझेदारीमा भवन सहित स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
नगरपालिकाका केही वडाहरुमा स्वास्थ्य संस्थाको व्यवस्था भैसकेको र बाँकी चार वटा वडा स्वास्थ्य संस्थाबिहीन रहेकाले भवनसहित स्वास्थ्यकर्मीको ब्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको नगर प्रमुख खाँडले बताउनुभयो ।
नगरपालिकाका १४ वटा वडामा हाल १७ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । जसमा १५ शैयाको गह्रौ प्राथमिक अस्पताल सहित ९ वटा स्वास्थ्य चौकी र ७ वटा शहरी स्वास्थ्य केन्द्र रहेका नगर प्रमुख खाँणले बताउनुभयो । स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवा प्रदान गर्ने गरी अगाडि बढाइएको हो ।
वालिङमा १५ शैयाको गह«ौं प्राथमिक अस्पताल सञ्चालनमा रहेको र १५ शैयाको वालिङ नगर अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको नगर प्रमुख खाँडले बताउनुभयो । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरु निर्माणको क्रममा रहेकाले वालिङलाई शैक्षिक र मेडिकल कलेजको हब’ का रुपमा विकास गर्ने उद्देश्य रहेको समेत नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो ।