मंसिर २०, स्याङ्जा । स्याङ्जाको स्वरेकमा रहेको दक्षिण एसियाकै पहिलो द बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलका संचालक सानोबाबु सुनुवारका कान्छो छोरा १० वर्षीय हिमालय सुनुवारलाई ८ वर्षको उमेर देखि नै आकाशमा उड्ने रहर थियो । त्यतिबेला उनलाई बुबा सानोबाबुले आकाशमा उड्न दिएनन् । तर अहिले छोरा हिमालयको इच्छा चहानालाई सानोबाबुले पनि रोक्न सकेनन । त्यसैले १० वर्षको छोराको चाहाना पुरा गराउन बुबा सानोबाबुले छोरालाई अकाशमा उडान भर्न सिकाउदै छन ।
हिमालयले सानैदेखि प्याराग्लाइडिङमा चाहना राख्नु अस्वभाविक थिएन, किनकी बुबा सानोबाबु सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङ गरेर समुन्द्र तटसम्म पुगेर २०१२ मा नेशनल जियोग्राफी साहसिक हिरो अफ द इयरबाट सम्मानित व्यक्ति हुन । बुबा प्याराग्लाईडिङ प्रशिक्षक समेत हुन भने परिवारमा आमा र दाईले पनि प्याराग्लाइडिङ गर्दछन । त्यसकारण उनले प्याराग्लाइडिङ गर्ने चाहर मात्र होईन बुबा जस्तै सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने लक्ष्य राखेका छन ।
छोरा हिमालयले ग्राउण्ड हृयाण्डेलिङ राम्रो गरेपछि, पहिलो उडानमा आमालाई भने डर लागेको थियो । तर पहिलो दिनको उडान पछि भने उनको मन शान्त भएको छ । ग्राउण्ड हृयाण्डेलिङ पछि उस्लाई आकाशमा नउडाउने योजनामा बुबा आमा थिए । तर हिमालय आकाशमा उड्छु भनेर रुदै जिद्दि गरेपछि आकाशमा उड्न दिएको आमा सुस्मीता सुनुवार बताउछिन ।
सुरुको दिनमा केही डर लागे पनि आकाशमा उड्दै गएपछि अहिले डर हराएको र आकाशमा रमाउन थालेका छन हिमालय ।
उनी अहिले १० वर्षका मात्र भए । पोखराको स्कुलमा ४ कक्षामा अध्ययनरत उनले आकाशमा एक्लै प्याराग्लाइडिङ उडान भर्न सुरु गरि सकेका छन ।

यसरी १० वर्षको सानै उमेरमा आकाशमा एक्लै प्याराग्लाइडिङ उडान भर्ने उनि पहिलो नेपाली पनि हुन । हाल उनीसँगै विभिन्न जिल्लाका ९ जनाले प्याराग्लाइडिङ बारे पशिक्षण लिएका छन ।