Logo

शनिवार, कार्तिक १ गते २०८३

images

भारतले अस्थायी रूपमा कोरोना खोपको निर्यातमा लगायो रोक

भारतले अस्थायी रूपमा कोरोना खोपको निर्यातमा लगायो रोक

  • PNN Times
  • बिहिवार, चैत्र १२ २०७७


  • भारतले अस्थायी रूपमा कोरोना खोपको निर्यातमा लगायो रोक

    काठमाडौँ — संक्रमण तीव्र भएपछि भारतले कोरोना भाइरसविरुद्धको खोपको निर्यातमा रोक लगाएको छ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोरोना खोप ‘कोभिसिल्ड’ को निर्यातमा अस्थायी रूपमा रोक लगाएको हो । भारतमा संक्रमण तीव्र भएसँगै खोप अभाव हुन सक्ने भन्दै निर्यातमा रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र बीबीसीले उल्लेख गरेका छन् । आगामी साता भारतमै खोपको माग बढ्ने भएकाले तत्काललाई निर्यात रोकिएको विदेश मन्त्रालयले जनाएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले उत्पादन गर्छ

    एसआईआई विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी पनि हो । भारतको पछिल्लो निर्णयले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामा पनि प्रभाव पर्ने भएको छ । एसआईआईले कोभ्याक्स परियोजनाअन्तर्गत न्यून आय भएका ६४ मुलुकलाई खोप आपूर्ति गर्दै छ ।

    images

    कोभ्याक्स परियोजनाको वितरण साझेदार युनिसेफले रोयटर्ससँग भनेको छ, ‘कोभ्याक्स परियोजनाअन्तर्गत न्यून आय भएका मुलुकमा खोप वितरण केही ढिला हुने भएको छ, हामी समयमै खोप आपूर्ति होस् भन्नका लागि भारत सरकारसँग कुराकानी गरिरहेका छौँ ।’

    कोभ्याक्सले अहिलेसम्म एसआईआईबाट १ करोड ७७ लाख डोज कोरोना खोप प्राप्त गरेको छ । भारतले अहिलेसम्म विभिन्न ७६ देशमा ६ करोड ५० लाख डोज खोप निर्यात गरिसकेको छ । कोभ्याक्स परियोजनाअन्तर्गत नेपालले पनि ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको छ ।

    त्यस्तै एसआईआईबाटै उत्पादित कोभिसिल्डको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराएको थियो । त्यस्तै सरकारले फागुन ५ गते एसआईआईसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यसअन्तर्गत पहिलो खेपमा १० लाख डोज फागुन ८ गते आइपुगे पनि अर्को खेप अझै आएको छैन । यसअघि स्वास्थ्य मन्त्रालयले फागुन २३ गतेअगावै दोस्रो खेप आइपुग्ने दाबी गरेको थियो ।

    भारतमा पछिल्ला दिन कोरोना संक्रमण तीव्र देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार ‘डबल म्युटेन्ट’ कोरोना भेटिएको पनि बताएको छ ।

    संक्रमण तीव्र भइरहेका बेला नयाँ प्रकारका भाइरस बढ्दै जानुले भारतमा कोरोनाको दोस्रो लहरको जोखिम बढाएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । त्यहाँ बुधबार एकै दिन ४७ हजार २ सय ६२ नयाँ संक्रमित थपिएका छन्  जुन पाँच महिनायताकै बढी हो ।

    यससँगै भारतमा कुल संक्रमित संख्या १ करोड १७ लाख ३४ हजार नाघिससकेको छ । त्यसै गरी, बुधबार मात्र संक्रमणका कारण २ सय ७५ जनाले ज्यान गुमाएका छन् । भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ४ सय ४१ पुगेको छ ।

    बिहिवार, चैत्र १२ २०७७११:३२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend