चैत्र १३, वालिङ । स्याङ्जाको वालिङमा शुक्रबार एकदिन सामुदायिक तथा घरमा पालिएका कुकुरहरुलाई बन्ध्याकरण तथा खोप लगाईएको छ । वालिङ नगरपालिकाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग तथा लियो क्लब अफ वालिङ सिटीको सहयोगमा एकदिने निःशुल्क रेविज रोग नियन्त्रणका लागि कुकुरहरुको बन्ध्याकरण तथा खोप लगाईएको हो ।
कार्यक्रममा वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बजारमा छाडा कुकुरको संख्या बढ्दै जाँदा होहल्ला हुने र कुकुरको टोकाईले रेबिज रोगको संक्रमण हुनसक्ने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिज विरुद्धको सुई लगाईएको बताउनुभयो ।
रेबिज रोग कुकुरबाट मान्छेमा सर्ने भएकाले यसको रोकथामका लागि सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर खोप तथा स्थायी बन्ध्याकरण गरिएको नगर प्रमुख खाँणले उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले कुकुरहरुको नियन्त्रण र ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँनुभयो । प्राविधिक सहयोगका लागि भेटेरिनरी अस्पताल लगायत शिविरलाई सफल पार्न सहयोग गर्ने संघ संस्था क्लब तथा ब्यक्तिहरु धन्यवादको पात्र भएको नगर उप प्रमुख तिवारीले उल्लेख गर्नुभयो ।
कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. बज्रकिशोर ठाकुरले पशुबाट मान्छेमा सर्ने रोगको नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सञ्चालन गरिएको भन्दै आगामी दिनमा पनि नगरपालिका सँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।