वैशाख २१, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन बेड तयार निर्माण गरेको छ ।
संक्रमणको दर बढ्न थालेको भन्दै नगरपालिकाले गह्रौ प्राथमिक अस्पतालमा अक्सिजन र निवुलाईजर सहितको बेड तयार पारेको हो ।
पहिलो चरणमा छ वटा बेड तयार गरेको र आवश्यकता अनुशार थप गर्ने नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिनु भयो । उहाँले थप आइसोलेसन निर्माण गर्न ठाँउको व्यवस्थापन गरिसकिएको बताउनदै नागरिकलाई थप सचेत बन्न तर नआत्तिन आग्रह समेत गर्नु भयो ।
“अस्पतालमा पहिलो चरणमा हामीले छ बेड निर्माण गरी आजैबाट सञ्चालनमा ल्याएका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “केही दिनभित्रैमा २० बेड थप गरी २५ बेड क्षमताको पुर्याउने गरी काम तीब्र गतिमा भईरहेको छ ।” वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारकालागि नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
“सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ” नगर प्रमुख खाँणले भन्नुभयो, “कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमि हुन दिने छैनौं र उपचारमा कुनै अभाव महशुस हुन नदिने गरी तयारी गरिरहेका छौं ।”
पहिलो चरणको कोभिड ब्यवस्थापनबाट धेरै अनुभव प्राप्त भएकाले पनि दोस्रो चरणमा सक्रियताका साथ बिरामीको उपचार गरिरहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।
अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न आईसोलेसनमा २४सै घण्टा डाक्टर, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उपचार तथा परामर्श गर्ने ब्यवस्था मिलाईएको प्रमुख पाण्डेले बताउनुभयो । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिन समेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख डाक्टर सरोज थापाले बताउनुभयो ।
परीक्षणको दर बृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहरुमा बढ्दै गएकाले जटिल बिरामीहरुलाई अस्पतालमै र सामान्य बिरामीहरुलाई होम आईसोलेसनमा राखिएको प्रमुख डाक्टर थापाले बताउनुभयो ।
वालिङ नगरभित्र आज साँझसम्ममा कूल सङ्क्रमित एकसय ७३ जना रहेकामध्ये ९ जना निको भएका छन् भने एकजनाको मृत्यु भएको छ । वालिङमा हाल एकसय ६३ जना सक्रीय सङ्क्रमितहरु छन् । उनीहरुमध्ये एकसय ५९ जना होम आईसोलेसनमा र चार जनाको पोखरामा उपचार भईरहेको छ |