गोपाल जिटी
जेठ १, २०७८, वालिङ
कोरोना महामारीले देशका विभिन्न स्थानमा बेड र अक्सिजनको अभावले ज्यान गुमाउनु परेका समाचारहरु आइरहेका बेला स्याङ्जाको वालिङमा त्यस्तो समस्या नभएको नगर प्रमुख दिलीप प्रताप खाँडले बताउनुभएको छ ।
वालिङ नगरपालिकाले गह्रौ प्राथमिक अस्पताल वालिङमा ३५ बेडको अक्सिजन सहितको आइसोलसेशनको व्यवस्था गरिसकेको उल्लेख गर्दै नगर प्रमुख खाँडले आवस्यक परेमा नगरपालिकालाई नै कोभिड अस्पतालकारुपमा प्रयोग गर्ने योजना रहेको समेत जानकारी गराउनुभयो । पहिला कोहि पनि विरामी नहोऔं, भैहालेमा स्थानीयस्तरमा रहेका विद्यालयलाई समेत आइसोलेशन अस्पताल बनाइने समेत उहाँले उल्लेख गर्नुभयो ।
धेरैले विमार लुकाएका कारणले पनि कोरोना महामारीले तीब्रता पाएको र समयमा जानकारी नगराएकाले रोगको शिकार बन्नुपरेको नगर प्रमुख खाँडले बताउनुभयो ।
गह्रौ प्राथमिक अस्पतालका साथै भारतसँग जोडिएको सुनौली नाकामा समेत परीक्षण गर्ने व्यवस्था गरिएको छ । यसका साथै धेरैजनामा कोरोनाको लक्षण देखिएमा वा उस्तैखालको विमार लागेमा गाउँमै पुगेर स्वास्थ्य परीक्षण गरिने व्यवस्था मिलाइएको समेत नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो ।
होम आइसोलेशन भरपर्दो र सुरक्षित भएपनि बस्नेहरुको लापर्वाहीले समुदायस्तरमा रोग पैmलिन गएको पनि उहाँको भनाई छ । यो केहि होइन भनेर सामान्य रुघा खोकिकोरुपमा लिएर जथाभावी गर्नु पनि रोग पैmलिनुको कारक बनेको नगर प्रमुख खाँडले उल्लेख गर्नुभयो । अबको एक हप्ता खतरापूर्ण रहेको र अहिलेकै अवस्था रहेमा धेरैको ज्यान जानसक्ने भन्दै नगर प्रमुख खाँडले अति आवस्यक नपरी घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।
जनस्वास्थ्यका मापदण्डलाई अधिकतम प्रयोग गर्न र बहाना बनाएर हिडडुल गर्ने जस्तो गैर जिम्मेवारी नहुन समेत उहाँको अनुरोध छ । दैनिकजसो नै कोरोनाका कारण मृत्युहुने गरेको छ । यस्तो अवस्थामा पनि गम्भीर नभए कहिले हुने ? त्यसैले पहिला जीवन हो, जीवन रहे सबै रहन्छ, जीवनै नरहे केहि पनि रहँदैन, त्यसैले स्वास्थ्य मापदण्डको पालना गर्नु अपरिहार्य भएको नगर प्रमुख खाँडको भनाई छ ।