जेठ २, स्याङ्जा । स्याङ्जाका सात जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार साँझ र आइतबार गरी कोरोना संक्रमणबाट वालिङ नगरपालिकाका चार, गल्याङ नगरपालिकाका दुई र अर्जुन चौपारी गाउँपालिकाका एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी गराएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका वडा नं १३ का कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शनिबार मृत्यु भएको हो । उहाँलाई बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसै गरी वालिङ नगरपालिका वडा न ८ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शर्माका अनुसार वालिङ नगरपालिका वडा नं १३ का ५५ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसै गरी वालिङ नगरपालिका वडा नं १ की ४९ वर्षीय कोरोना संक्रमित महिलाको आइतबार गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँलाई बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । शर्माका अनुसार गल्याङ नगरपालिका वडा नं ४ का ८३ वर्षीय पुरुषको मुत्यु भएको छ । उहाँलाई जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गल्याङ नगरपालिका वडा नं ४ का ८३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आइतबार होम आईसोलनमा मृत्यु भएको छ । उहाँलाई बैशाख २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै अर्जुन चौपारी गाउँपालिका वडा नं २ का ८० वर्षीय पुरुषको जिल्ला अस्पताल स्याङ्जामा उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला स्वास्थ्य कार्याल स्याङ्जाका अनुसार जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।