स्याङ्जा । स्याङ्जामा बुधबारदेखि भदौ ११ गतेसम्मलाई निषेधाज्ञा लगाइएको छ । समुदायमा कोरोनाको जोखिम बढेको भन्दैै बुधबार देखि भदौ ११ गतेसम्म लागू हुने गरी निषेधाज्ञा लगाइएको हो ।
बुधबारदेखि ११ गतेसम्म अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी जिल्ला प्रसासन कार्यालय स्याङ्जाले निषेधाज्ञा लगाइएका जारी गरेको छ।
अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेकका गाडी चलाउनमा समेत निषेध गरिएको छ ।
जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक गाडीसमेत सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन । चाडपर्वको बेला मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलूस गर्न पाइने छैन । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ ।
आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही हुने प्रशासनले जनाएको छ ।
त्यसै गरी जिल्ला अस्पताल स्याङ्जामा उपचारत विरामीमा कोरोना देखिएपछि एक हप्ताका लागी अस्पताल शिल गरिएको छ । अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्याट्रयाक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले भदौ ८ गतेसम्म शिल गर्ने तथा अस्पतालबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु स्थगति गरेको हो ।