भदौ, १९ । स्याङ्जा । स्याङ्जामा कोरोना संङ्क्रमणको दर कम हुँदै गएपछि निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । निषेधाज्ञा खुकुलो भएसंँगै जिल्लामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रिले बताउनुभयो ।
जिल्लाभर लागुहुने गरी सङक्रामक रोग ऐन, २०२० बमोजिम जारी गरिएको आदेशमा सुरक्षा सावधानी अपनाउँदै जोर बिजोर लागू गरिएको उल्लेख छ ।जिल्ला भित्र निजी सवारीसाधन तथा ट्याक्सी जोर विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरको र विजोर गते विजोर नम्बरको सवारी सञ्चालन गर्ने साथै यस्ता सवारी साधनमा चालक बाहेक बढीमा २ जना मात्र सवार हुन पाउनेछन् ।
भौतिक दुरी कायम गरी सबै किसिमका व्यवसायिक गतिविधिहरु विहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछन् । खाद्यान्न, कृषि र पशुपंक्षी तथा निर्माण सामाग्रीहरु लगायतका ढुवानी विहान ६ देखि बेलुका ९ बजेसम्म सञ्चालन हुनेछन् ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटरको भौतिक दुरी कायम गर्ने, सम्भव भएसम्म पटक पटक साबुन पानीले हात धुने, नभए स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न भनिएको छ । जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनहरु सञ्चालन हुनेछैनन् ।
शैक्षिक संस्थाहरु, पुस्तकालय, गोष्ठी, तालिम र सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, पार्टी प्यालेस लगायतका मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्वीमिङ पुल, जिमखाना लगायतका सेवा तथा स्थलहरु खुल्दैनन् भने मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुश गर्ने, महोत्सव गर्ने, तथा सबै धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम तथा क्रियाकलापहरु आयोजना गर्न र सहभागी हुन नपाईने जिल्ला प्रशासनले जनाएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संङक्रमण रोकथाम तथा नियन्त्रणको लागि संक्रामक रोग ऐन, २०२० को दफा २ को व्यवस्था बमोजिम स्याङ्जा जिल्लाभर लागू हुने गरी भदौ १८ गते राती १२ बजे देखि भदौ ३१ गते राती १२ बजे सम्मका लागि नयाँ आदेश जारी भएको हो ।
आदेशको अवज्ञा गरी सेवा तथा कार्य सञ्चालन गरे गराइएको पाइएमा संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानून बमोजिम कारवाही हुने प्रजिअ क्षत्रीले जानकारी दिनुभयो ।