असोज ८, स्याङ्जा । स्याङ्जाको वालिङमा शनिवार सम्पन्न मिनि म्याराथन प्रतियोगितामा पर्वतका सुजन क्षत्री पहिलो भएका छन् । महिला र पुरुष गरी छुट्टा छुट्टै गराइएको म्याराथन प्रतियोगितामा पुरुषतर्फ पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ७ भोर्ले इकाङका सुजन क्षत्री पहिलो भएका हुन् । त्यस्तै दाङका मनोज रोका मगर दोस्रो र स्याङ्जाका गीरप्रसाद गुरुङ तेस्रो तथा पाल्पाका गिरमान श्रेष्ठ चौथो भएका छन् ।
यसैगरी महिला तर्फ पुष्पा गुरुङ, दिपकला सार्की र ईन्द्रमाया खत्री क्रमशः पहिलो दोस्रो र तेस्रो भएका छन् । उनीहरुले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पुरस्कार वितरण गर्दै निवर्तमान संघीय सांसद मोहन पाण्डेले खेलकुदले सबैलाई एकतावद्ध गराउँने बताउनुभयो । उहाँले युवाहरु जस्तै दलहरु पनि मिलेर अगाडि बढ्नसके विकास निर्माणले गतिलिन सक्ने र देशले समृद्धि हासिल गर्ने उल्लेख गर्नुभयो ।
लियोे क्लब अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड तय गरिएको क्लबका पूर्व अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो । भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु भएको दौड वालिङ नगरपालिकाको गेटमा आएर पूरा भएको थियो ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । यसका साथै देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पुर्याइ खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ । मिनी म्याराथनमा गण्डकी प्रदेशसहित अन्य जिल्लाहरुबाट गरी एक सय २० जना धावकहरुको सहभागिता रहेको थियो ।