नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत स्याङ्जाको वालिङ खेलमैदानमा सञ्चालित महिला फुटबल प्रतियोगिताको शुक्रबार तीन खेल भएका छन् ।
विहान ९ बजे र दिउसो १२ःमा भएको खेलमा विभागीय टीम एपिएफ र गण्डकी प्रदेश विजयी भएका छन् । सुदुर पश्चिम र मधेश प्रदेशका बीच भएको तेस्रो खेलमा भने दुवै टीमले गोल गर्न नसक्दा बराबरीमा टुङ्गिएको होे ।
विहान ९ बजे भएको पहिलो खेलमा विभागीय टीम एपिएफले प्रदेश १ लाई एकका विरुद्ध सात गोल गर्दै विजयी भएको हो । एपिएफका लागि सावित्रा भण्डारीले २३ औं मिनेटमा सुरुवाती गोल गरिन् भने २४ औं मिनेटमा प्रदेश १ कि अन्जना थुलुङ राइले जवाफी गोल फर्काएकि थिइन् । यसपछि भने एपिएफको दवावमा परेको प्रदेश १ ले गोल थप्न सकेन । खेलको पुर्वार्धको ४० र ४५ औं मिनेटमा थप दुई गोल गरेकि सावित्राले दोस्रो हाफमा लगातार तीन गोल गरिन् । ५१, ५८ र ६० औं मिनेटमा सावित्रा एक्लैले गरेको गोलसँगै एपिएफले ७—० को जीत निकालेको हो ।

यसैगरी दिउसो १२ः३० मा भएको दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले हराएको हो । खेलको ३३ औं मिनेटमा शान्ता नेपालीले सुरुवाती गोल गरिन् । यसपछि उदया थापाले गरेको दुई गोलसहित गण्डकीले कर्णाली प्रदेशलाई ३—० को जीत निकालेको हो । खेलको धेरैजसो समय गण्डकीले कर्णाली प्रदेशलाई दवावमै राखेको थियो । गोल गर्ने केहि प्रयास भए पनि गोल गर्न नसक्दा कर्णालीले गण्डकीसँगको खेलमा हार बेहोरेको हो ।
यस्तै दिउसो ३ः३० मा सुदुर पश्चिम र मधेश प्रदेशबीच भएको तेस्रो खेल बराबरीमा टुङ्गिएको छ । सुरुवातीदेखि प्रतिस्पर्धात्मकरुपमा खेलेका दुवै टीमको अन्तिम समयसम्म पनि गोल हुन नसक्दा खेल बराबरीमा टुङ्गिएको हो ।