स्याङ्जाको वालिङमा जारी राष्ट्रिय महिला फुटवल प्रतियोगितामा आइतबार दुई खेल भए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा जारी राष्ट्रिय महिला फुटवलको चौथोदिन आइतबार दुई खेल भएका हुन् । आइतबारका खेलमा विभागीय टीम त्रिभुवन आर्मी र नेपाल पुलिस विजयी भएका छन् । आर्मीले सुदूर पश्चिमलाई हराउँदै दोस्रो जीत निकालेको हो । यस्तै पुलिसले लुम्विनीलाई पाखा लगाउँदै विजयी भएको हो । यो जीतसँगै यी दुई टीमले समान ६/६ अंक जोडेका छन् ।
आर्मीले सुदूर पश्चिमलाई शुन्यका विरुद्ध ११ गोल गर्दै विजयी भएको हो । आर्मीका अमिसा कार्की ४ र खुस्मा राईले ३ गोलसहित दुवैजनाले ह्याट्रिक गरे भने हिमा चौधरीले २ र सपना लामाले २ गोलको योगदान गरे ।यस्तै दोस्रो खेलमा पुलिसले लुुम्विनीलाई १०-० ले विजयी भएको हो । पुलिस क्लबका लागि रेखा पौडेल ६ गोलसहित दोहोरो ह्याट्रिक पूरा गरिन भने निर्मला विक २, दिपा न्यौपाने र अनुस्का सेर्पाले समान १/१ गोल गरे ।
जारी नवौं राष्ट्रिय फुटबलमा गण्डकी, बाग्मती प्रदेश र प्रदेश १ ले समान ३/ ३ अंक जोडेका छन् भने मधेश र सुदूर पश्चिम प्रदेशको समान १÷१ अंक सहित अंकभारको आधारमा पुछारमा रहेका छन् ।