कार्तिक २,वालिङ । स्याङ्जाको वालिङमा जारी राष्ट्रिय महिला फुटवलमा नेपाल पुलिस क्लव र एपिएफ क्लव फाइनल प्रवेश गरेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङ खेलमैदानमा सञ्चालित राष्ट्रिय महिला फुटवलमा मङ्गलबार सेमिफाइनलका खेल भएका थिए । सेमिफाइनल खेलमा पुलिसले प्रदेश १ र एपिएफले आर्मीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेका हुन् ।
मंगलबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलको जीतसहित फाइनलको यात्रा तय गरेको हो ।
पुलिसका लागि जर्सी नम्वर ७ कि निर्मला विकको पासलाई सदुपयोग गर्दै जर्सी नम्वर ९ कि रेखा पौडेलले सुरुवाती गोल गरिन् । यसपछि १९ औं मिनेटमा निर्मला विकले बललाई कन्ट्रोलमा लिदै गोललाई दोव्वर पारिन् । यसबीचमा प्रदेश १ ले जवाफी गोलका लागि निकै प्रयास गरेपनि सफल हुन सकेन । २७ औं मिनेटमा प्रदेश १ कि अञ्जना थुलुङ राईको गोल गर्ने प्रयास पनि सफल हुन सकेन । यसैगरी ३२ औं मिनेटमा प्रदेश १ कि अनिता गुरुङको प्रयास पनि असफल भयो । दोस्रो हाफपछि मैदान प्रवेश गरेकि जर्सी नम्वर १० कि निर्मला उपाध्यायले ८० औं मिनेटमा पुलिसका लागि तेस्रो गोलको योगदान गरिन् । यो गोलसँगै पुलिसले प्रदेश १ लाई शुन्यका विरुद्ध तीन गोलसहित फाइनलको यात्रा पक्का गरेको हो ।
यस्तै दोस्रो खेलमा एपिएफले आर्मीलाई शुन्यका विरुद्ध एक गोल गर्दै फाइनलमा पुगेको हो । खेलको सुरुदेखि नै दुवै टीम कडा प्रतिस्पर्धामा उत्रेका थिए । आक्रामकरुपमा खेलेका दुवै टीमको पहिलो हाफ गोल रहित सकियो । यी दुवै टीमको प्रतिस्पर्धाले खेल हेर्ने दर्शकहरुलाई निकै उत्साही बनाएको थियो । मध्यान्तर पछिको ११ औं मिनेटमा जर्सी नम्वर ९ कि सावित्रा भण्डारीले प्रहार गरेको बलले जाली चुमेसँगै एपिएफले शुन्यका विरुद्ध एक गोलको अग्रता बनायो । सावित्राले गरेको गोल नै निर्णायक बन्न पुग्यो र एपिएफलाई फाइनलको यात्रा निश्चित गरेको हो ।
खेल प्रतिस्पर्धात्मक रहेपनि सुरुदेखि नै एपिएफले आर्मीलाई दवावमा पारेको थियो । आर्मीका तर्फबाट गोल गर्ने केही प्रयास भएपनि सफल हुन सकेन ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेता आर्मीले नवौं संस्करणमा पनि फाइनल खेल्ने सपना एपिएफले समाप्त पारिदिएको छ ।
अब एपिएफ र पुलिस क्लवले उपाधीका लागि कार्तिक तीन गते विहिबार प्रतिस्पर्धा गर्नेछन् ।