पौष ३०, वालिङ ।स्याङ्जाको वालिङमा शनिबारदेखि प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सुरु भएको छ । वालिङ युनाइटेड क्लवले प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगिताको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह«ेले क्लवले राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गरेर इतिहास रच्ने काम गरेको बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । विश्वका विभिन्न व्यक्तिहरु खेलका माध्यमबाट आँफूसँगै देशकोसमेत नाम राख्न सफल भएका छन् र नेपाली खेलाडीहरु पनि सक्षम रहेको उहाँले व्यक्त गर्नुभयो । यसका साथै खेलाडीहरुको व्यक्तिगत जीवन रुपान्तरण खेलको भूमिका महत्वपूर्ण रहने भन्दै नगर उप प्रमुख गैह«ेले नगरपालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खेलमैदानको असुविधाका वावजुद पनि खुल्ला चौरमा खेलेर यस क्षेत्रका खेलाडीहरुले राष्ट्रिय पहिचान बनाउन सफल छन्, यो गौरवको कुरा हो । खेलाडी र खेलप्रेमीको आवस्यकतालाई मध्य नजर गरी नगरपालिकाले वालिङ खेलमैदानलाई व्यवस्थित गर्ने कामको थालनी गरेको छ । यसका लागि आवस्यक जग्गा खरिदको काम छिट्टै अगाडि बढाइने उप प्रमुख गैह«ेले जानकारी गराउनुभयो ।
यसैबीच शनिबार भएको उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड क्लव रातोले विजयी सुरुवात गरेको छ । युनाइटेड क्लव रातोले लिस्नु क्लव कोटिहवा रुपन्देहीलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफ गोल रहित सकिएको थियो दोस्रो हाफको छैटौं मिनेट युनाइटेड क्लव रातोले गोल गर्न सफल भएको हो । मैदानको दायाँबाट सफल थापाले गरेको प्रहारलाई लिस्नुका गोलकिपर सन्देश थापाले फर्काएसँगै जर्सी नम्वर ८का सकुल गुरुङले गोलमा परिणत गरेका थिए । गुरुङको गोल नै युनाइटेड रातोको जीतका लागि निर्णायक बन्यो ।
खेलको सुरुदेखि युनाइटेड रातोले लिस्नुलाई दवावमा पारेको थियो । खेलको इन्जुरी समयको चार मिनेटमा लिस्नुका आशिष चापागाईंले पाएको डाइरेक्ट फ्रिकिकलाई युनाइटेड रातोका गोलकिपर रुपेश हमालले कुशलतापूर्वक बचाएसँगै लिस्नु क्लव दुर्भाग्य बन्यो ।यसैगरी वालिङ गोल्ड कपको दोस्रो दिन माघ १ गते आइतबार शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवनका बीच प्रतिस्पर्धा हुने छ । खेल दिउसो साढे एक बजे हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
विभागीय टीम त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहको सहभागिता रहेको पहिलो वालिङ गोल्ड कप माघ ७ गते समापन गरिने छ ।