फागुन २८,वालिङ ।
बिरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सुर्य बहादुर कुँवरले खेलकुदलाई जीविकोपार्जनको माध्यम बनाउने गाउँपालिकाले लक्ष्य लिएको बताउनुभएको छ ।
आइतबार बिरुवा–८,मेथाभुरुङमा रहेको पुष्पमदन खेलमैदानमा ७ औँ अध्यक्षकप खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा अध्यक्ष कुँवरले खेलाडीहरुले खेलको माध्यमबाट नै जीवन धान्न सक्ने गरी खेलकुदलाई विकास गर्ने बताउनुभएको हो ।

उहाँले खेल खेलेरमात्र अर्थोपार्जन गर्न सकिन्न भन्ने खेलाडीहरुमा पर्न गएको मनोसामाजिक प्रभावलाई मेटाएर खेलप्रति आकर्षण बढाउँदै अब्बल खेलाडी उत्पादन गर्न पालिकाले योजना बनाएको उल्लेख गर्नुभयो ।
अध्यक्ष कुँवरले खेललाई व्यवस्थित रुपले खेलाउने अफिसियलहरु उत्पादन गर्न नेपाल खेलकुद विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा अफिसियल तालिम सञ्चालन गर्न लागिएको पनि जानकारी दिनुभयो ।
उहाँले खेलकुदको दायरा फराकिलो बनाउन विगतका प्रतियोगितामा भलिबलमात्र भएकोमा यसवर्षदेखि ब्याडमिन्टन र शटपुट पनि समावेश गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्माले खेलकुदले व्यक्तिको शारिरीक स्फूर्ति वृद्धि गर्दै स्वस्थ रहन अहम भूमिका खेल्ने भएकोले दैनिक अभ्यासको रुपमा खेल खेल्न सबैलाई आग्रह गर्नुभयो ।

भ्रातृत्व विकास,स्वास्थ्यमा अब्बलता तथा मानसिक तन्दरुस्तीको लागि खेलकुदको महत्व रहेकोले पालिकाले खेलको विकास गर्न खेलकुदका कार्यक्रमहरु आयोजना गरेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाको स्थापनासँगै आयोजित अध्यक्षकप खेलकुद प्रतियोगिताको साताँै संस्करणमा विधागत दायरा फराकिलो पारिएको गाउँपालिकाले जनाएको छ । विगतका प्रतियोगिताहरुमा वडागत रुपमा महिला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदै आइरहेको अवस्थामा यसवर्ष व्याडमिन्टन र शटपुट थ्रो पनि समावेश गरिएको छ ।
फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगिता फागुन २९ गतेसम्म चल्नेछ ।
