तोलाकान्त बगाले
माघ २३, वालिङ । युवाहरुमा खेलप्रतिको आकर्षण बढेसँगै स्याङ्जाको वालिङमा दोस्रो फुटसल कोर्ट सञ्चालनमा आएको छ । वालिङ १० का चार जना युवाहरुको सामूहिक लगानीमा फुटसल सञ्चालनमा ल्याईएको हो । सोमबहादुर मल्ल (बिमल), अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठले सामूहिक एक करोडको लगानीमा वालिङमै दोस्रो ईन्डोर फुटसल सञ्चालन गरेका हुन् ।

फुटसलको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले फुटसल खेलको विकासका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले वालिङ तथा आसपासका खेलाडीहरुको क्षमता प्रष्फुटन गर्नुकासाथै नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।
“फुटसलले पक्कै पनि खेलकुदप्रति आकर्षण गर्नुकासाथै स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण भूमिका खेल्ने छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो यसले पछि उपलब्धी दिदैं जाने छ ।” कार्यक्रममा उप प्रमुख कल्पना तिवारीले खेललाई ब्यवसायिकतासँग जोड्दै अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले लुकेर रहेका प्रतिभावान खेलाडीहरुको खोजी तथा खेल क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
एन्फा केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको स्वागतसँगै शुरु भएको कार्यक्रम सञ्चालक सोमबहादुर मल्ल (बिमल) को सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पुरनबहादुर थकालीले गर्नुभएको थियो ।