कार्तिक ४,वालिङ । स्याङ्जाको वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । वालिङ भलिबल क्लवले यही कार्तिक ८ देखि १३ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । वालिङ खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने बिहिबार पत्रकार सम्मेलन गरी आयोजकले सार्वजनिक गरेको हो । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी हुनुपर्ने र बाँकि बाहिरका खेलाडी समूहमा समाबेस गर्न सकिने आयोजकले जनाएको छ ।
पुरुषतर्फको प्रतियोगितामा प्रथम,द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद रु. १ लाख, ५० हजार, २५ हजार र १० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी वेष्ट प्लेयरले नगद रु. ५ हजार र वेष्ट स्पाइकर, वेष्ट सेटर, मिडल व्लकर, वेष्ट सर्वर तथा वेष्ट डिफेन्सले जनहि २/२ हजार प्राप्त गर्नेछन् । यस्तै गरी महिलातर्फ प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमशः रु.२० हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने वेष्ट प्लेयरलाई नगद रु. २ हजार प्रदान गरिने आयोजक क्लवका अध्यक्ष दिपेन्द्र खाँडले बताउनुभयो ।
भलिबल खेलको विकास गर्ने, वालिङ खेलमैदानलाई थप व्यवस्थापन गर्ने, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लगायतका उद्देश्य रहेको अध्यक्ष खाँडले जनाउनुभयो । यसका साथै निकट भविष्यमा भलिवल प्रशिक्षण केन्द्र स्थापना सहित एकेडेमी सञ्चालन गर्ने लक्ष्य रहेको समेत अध्यक्ष खाँडले उल्लेख गर्नुभयो ।
प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका माननीय सांसद भागवत प्रकाश मल्लले गर्ने पनि आयोजकले जनाएको छ ।२०७६ मा स्थापना भएको क्लवले दोश्रो वार्षिक उत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरेको हो ।