कार्तिक ८,वालिङ ।स्याङ्जाको वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सोमबार उद्घाटन भएको छ । वालिङ भलिबल क्लवले पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । यहि कार्तिक १३ गते शनिबार सम्पन्न गरिने प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकूद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लद्वारा खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण सहित प्रतियोगिताको शुभारम्भ गरिएको होे ।
उद्घाटन खेल महिला समूहका आयोजक क्लव र अकला फेन्सी गल्याङको बीच भएको थियो । उद्घाटन खेलमा अकला फेन्सी गल्याङले आयोजक क्लवलाई लगातार ३ सेट सहित जीतको यात्रा सुरु गरेको छ । यसैगरी मङ्गलबार पुरुष र महिलातर्पmका गरी दुइखेल खेलाइने र खेल विहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्पm १० समूहको सहभागिता रहेको छ भने महिलातर्पm ७ समूहले प्रतिस्पर्धा गर्ने आयोजक क्लवका उपाध्यक्ष किरण खाँडले जानकारी गराउनुभयो । लिग सिस्टममा खेलाइने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिलातर्पm प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहले क्रमशः.२० हजार, १० हजार र ५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा खेलको नियम अनुसार विभिन्न विधामा समेत पुरस्कृत गरिने आयोजक क्लवले जनाएको छ ।
२०७६ मा स्थापना भएको क्लवले दोश्रो वार्षिक उत्सवका अवसरमा प्रतियोगिताको आयोजना गरेको हो । कोरोना भाइरसको महामारीका कारण करिव दुइवर्ष यस्ता कुनै कार्यक्रमहरु आयोजना हुन नसकिरहेको अवस्थामा यो प्रतियोगिता भव्य र सभ्यरुपमा सम्पन्न हुने आयोजकको अनुमान छ । खेलाडी तथा खेलप्रेमी महानुभावहरुका लागि लामो समयपछि स्याङ्जा जिल्लाकै केन्द्र वालिङ खेलमैदानमा आकर्षक पुरस्कार राशी सहित आयोजित प्रतियोगिता उत्साहजनक रहने विश्वास गरिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक वालिङ नगरपालिका र सह प्रायोजक चापाकोट नगरपालिका रहेको छ ।